काठमाडौँ : नेपाली समाजमा महिलाको स्वास्थ्य समस्यालाई लिएर विभिन्न चुनौतीहरू रहँदै आएको छ। यस्तै चुनौतीहरूसँग लड्न तथा जनचेतना फैलाउन, स्वर्गीय भुपेन्द्रा बुढाको सम्झनामा महिलाको पाठेघरको मुखको क्यान्सर सचेतना तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदै छ।
स्व. बुढा पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वकी तत्कालीन उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँको नेतृत्व क्षमताले नेपाली महिलाहरूलाई समाजसेवा र राजनीतिक क्षेत्रमा लाग्न अभिप्रेरित गरिरहेको थियो।
गत भदौ २८ गतेको सडक दुर्घटनाले उहाँलाई असमयमै गुमाउनुपर्यो।
उहाँको अधुरो सपनालाई पूरा गर्ने उद्देश्यले कल्प इम्पावर वीमेन नेपालले भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप (Campaign – Cervical Cancer Awareness Program) सञ्चालन गर्न लागेको हो।
यस अभियान अन्तर्गत मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सात स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ। पुथा उत्तरगङ्गा गाउँपालिका (रुकुम पूर्व), बडीगाड गाउँपालिका (बाग्लुङ), अन्नपूर्ण गाउँपालिका (म्याग्दी), पचालझरना गाउँपालिका (कालिकोट), पटेर्वा सुगौली गाउँपालिका (पर्सा), सिगास गाउँपालिका (बैतडी) र गौमुल गाउँपालिका (बाजुरा)मा शिविर सञ्चालन गरिनेछ।
फागुन र चैत महिनामा आयोजना गरिने यस कार्यक्रमबाट करिब १०,००० मानिसहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
ग्लोबल क्यान्सर अब्जर्भेटरी (GLOBOCAN) 2020 को रिपोर्ट अनुसार, नेपालमा वार्षिक २ हजार २४४ नयाँ पाठेघरको मुखको क्यान्सरका बिरामी भेटिन्छन्।
यो रोग ग्रामीण क्षेत्रका महिलाहरूमा बढी देखिएको छ, जसको मुख्य कारण भाइरस (HPV) संक्रमण, अपर्याप्त स्वास्थ्य शिक्षा, र नियमित स्वास्थ्य परीक्षणको अभाव हो।
यस स्वास्थ्य शिविरमा निशुल्क क्यान्सर परीक्षण, परामर्श, र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। कल्प इम्पावर वीमेन नेपालकी अध्यक्ष पूजा कोइरालाका अनुसार, “महिलाहरूले भोग्ने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न यस्ता कार्यक्रम आवश्यक छन्। यस अभियानले हजारौँ महिलाको जीवन बचाउने आशा गरिएको छ।”
यस शिविरमा स्थानिय सरकार, स्वास्थ्यकर्मी, तथा विभिन्न संघसंस्थाहरूको सहकार्य रहनेछ। आयोजकहरूले सबैलाई यस अवसरको लाभ उठाउन आग्रह गरेका छन्।
Comments
Post a Comment