इटहरी । इटहरी उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भई सेवा सञ्चालन सुरू भएको छ। उपमहानगर परिसरमा निर्माण गरिएको ६ तले आधुनिक भवन अब पूर्ण रूपमा प्रयोगमा ल्याइएको हो।
प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार नयाँ भवनबाट घर नक्सा शाखा, कृषि शाखा, पशु शाखालगायत विभिन्न शाखा तथा महाशाखाहरूबाट सेवा प्रवाह भइरहेको छ। नगरवासीको बढ्दो सेवा आवश्यकतालाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको भवनबाट अब थप व्यवस्थित र प्रभावकारी सेवा प्रदान गरिने उनले बताए।
‘गाविसबाट नगरपालिका, त्यसपछि उपमहानगरपालिकामा स्तरोन्नति भएसँगै सेवाग्राहीको सङ्ख्या र कामको चाप वृद्धि भएकाले नयाँ भवन अपरिहार्य थियो,’ अधिकृत मेहताले भने। उनले नयाँ भवनको प्रयोगले सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिने लक्ष्य राखिएको उल्लेख गरे।
भवन निर्माण ब्राईट ज्ञान ज्योति अर्थ जेभी हेटौडाले सम्पन्न गरेको हो। २८ सय वर्गफिट क्षेत्रफल ओगट्ने यो भवनको निर्माणका लागि २०७८ साल मंसिर २० गते ९ करोड १८ लाख २४ हजार ३६४ रुपैयाँमा सम्झौता भएको थियो।
नयाँ भवनमा दुईतर्फ भर्याङ्ग तथा एउटा लिफ्टको व्यवस्था गरिएको छ। साथै, आगलागी नियन्त्रणका लागि फायर फाइटिङ्ग प्रणालीको सुविधा राखिएको छ। छैटौँ तलामा रहेको सभाहल विभिन्न कार्यक्रम तथा बैठकका लागि प्रयोग गर्न थालिएको छ।
उपमहानगरपालिकाले नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै नागरिकलाई थप सहजता मिल्ने विश्वास लिएको छ।
Comments
Post a Comment