सेवा प्रवाहमा सुधार गर्दै इटहरी



 इटहरी । इटहरी उप महानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ ।

उपमहानगर र उप महानगर अन्त्रगतका सबै वडाबाट प्रवाह गर्ने सेवा सजिलै र छिट्टै प्रदान होस भनेर नीतिगत सुधार थालेको हो ।

यसकालागि उप महानगरको संरचनामा समेत परिवर्तन भएको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहज ढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले जनाएको छ ।

इटहरी उप-महानगरपालिकामा अहिले १० वटा महाशाखा र ४० वटा शाखा रहेका छन् । यस्तै इटहरी उप महानगरपालिकामा २० वटा वडा कार्यालय र १५ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।

उपमहानगरले नीतिगत सेवा प्रवाहलाई सहज बनाउन नीतिगत सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालय समयमा कर्मचारी भेटिन थालेका छन् । उनीहरूले अलमल विनाकार्य सम्पादन गर्न थालेको सेवाग्राहीले बताए ।

नीतिगत सुधारसँगै पछिल्लो समय शाखातथा महाशाखामा हुने भिडभाड पनि घटेको छ । भिडभाड हटाउने योजना सहित काम सुरु भएपछि महाशाखा र शाखहरुमा देखिने लाइन हटेको छ ।

इटहरी उप महानगरपालिकामा राजश्व शाखा, घर नक्सा शाखामा सेवाग्राहीको भिड हुने गरेको थियो । अहिले ती शाखामा लाइन बिना नै पालो सिस्टममा बसेर सेवाग्राहीले सेवा पाएको बताएका छन् ।

इटहरी उप महानगरले अहिले अनलाइन प्रणालीबाट घर नक्सा बनाउने काम सुरु गरेको छ । यो सेवा सुरु भएसँगै कोठा कोठा चहारेर नक्सा पास गर्नु पर्ने झन्झट हटेको सेवाग्राही अनीश राईले बताए ।

इटहरी उप नगरपालिकाले यसै आर्थिक वर्षदेखि १ हजार स्क्वायर फिट भन्दा कम क्षेत्रफल भएको घरको नक्सा समेत निःशुल्क बनाउन थालेको छ ।

उप महानगरले इन्जिनियर राखेर निःशुल्क नक्सा पास गराउन थालेपछि सेवाग्राहीलाई सहज भएको राईले बताए ।

‘एकै ठाउँबाट काम हुन थालेछ’उनले भने, ‘घर नक्सा पास गर्न पहिले जस्तो फाइल बोकेर हिँड्न पर्ने बाध्यता हटेछ ।’

इटहरी ९ बिपी चौक घर भएका सेवाग्राही प्रभात थापाले अहिले सेवा लिन सहज रहेको बताए । उपमहानगर परिसरमा भेटिएका थापाले भने, ‘सम्बन्धित कामका लागि आवश्यक कागजपत्र साथमा छ भने छिटै काम सम्पन्न हुने रहेछ ।’

राजश्व शाखा बाट कर तिरेर फर्कँदै गरेका इटहरी ४ का सेवाग्राही दीपक सुवेदीले धेरै बेर पर्खनु नपरेको बताए ।

‘पहिले पहिले धेरै समय लाइनमा बसेर कुर्नुपथ्यो, तर आज धेरै बेर लागेन छिट्टै कर तिरियो । सजिलै भयो । ’ उनले भने ।

उपमहानगर र २० वटै वडा कार्यालय बीचअन्तर समन्वयलाई प्रभावकारी बनाइएको छ । सबै वडाबाट प्रदान गरिने सेवामा पनि सुधार आएको वडा अध्यक्षहरूले बताएका छन् ।

वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी लागिपरेको इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापाले बताए ।

वडा बाट नहुने कतिपय कामलाई उपमहानगरका शाखा तथा महाशाखामा समन्वयगर्दै सेवाग्राहीलाई सेवा दिने गरेको अध्यक्ष थापाले बताए ।

कर्मचारीलाई इ हाजिरी, अनिवार्य पोसाक

प्रशासन सुधार अन्तर्गत कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिस क्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।

कर्मचारी व्यवस्थापनमा कडाइ गरेसँगै अहिले शतप्रतिशत कर्मचारीहरू कार्यालय पोसाकमा आउने गरेका छन् । बिहान १० :१५ भित्रमा इ हाजिरी नगर्ने कर्मचारी गयल हुन्छन् ।

जुनसुकै तहका कर्मचारीले १० ः १५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पीङ गरिसक्नुपर्छ । बेलुका ५ बजे पुनःथम्पीङ गर्नुपर्छ ।

कार्यालय समयमा उपस्थित नहुने, पोसाक नलगाउने, विना जानकारी बिदा बस्ने,सेवाग्राहीको काम नगरी अल्झाउने, फिल्डमा छु भन्ने तर फिल्ड रिपोर्ट नबुझाउने कर्मचारीलाई स्पष्टीकरण सोध्ने गरिएको छ ।

आर्थिक वर्ष २०७९। ०८० मा करिब दुई सय बढी स्पष्टीकरण सोधिएको प्रशासन महाशाखाका प्रमुख संजिवकुमार खड्काले जानकारी दिए । यस्तो स्पष्टीकरण तल्लो तह देखी माथिल्लो तह सम्मका कर्मचारीलाई सोधिएको थियो ।

स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जानकारी दिएको छ ।

तर चालु आर्थिक वर्ष २०८०/०८१को साउनमहिना देखी माघ महिना सम्म ४,५ वटा मात्रै स्पष्टीकरण सोध्नु परेको खड्काले बताए ।

उपमहानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति पनि लिएको छ । केहीदिन अघि कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी घोषित गर्दै कार्यालय सहयोगी केशवकुमार कार्कीलाई नगद १ लाख रुपैयाँ सहित प्रमाण पत्रप्रदानगर्दै पुरस्कृत गरेको छ ।

यसले कर्मचारीमा थप सृजनशील भएर काम गर्ने उत्साह थपिने उपमहानगरले जनाएको छ ।

सेवाग्राहीको निवेदन लेखिदिने,चियाकफी निःशुल्क

नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

पुस महिनाबाट नागरिक सहायता कक्ष सञ्चालनमाल्याइएको मेहताले बताए । आफ्ना नागरिकहरूलाई नजिकबाट सेवा दिने व्यवस्था मिलाएको मेहताको भनाई छ ।

सेवालिन आएका कुनै पनि नागरिक अलमलिनु नपर्ने गरी व्यवस्थापन मिलाइएको उनको दाबी छ ।

सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भएफाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने गरेको नागरिक सहायता कक्षकीकर्मचारी आरती चौधरीले बताइन् ।

आएका निवेदनहरूको दर्ता चलानी गरिदिने तथा सेवाग्राहीहरूको कागजपत्रको निःशुल्क फोटोकपी पनि गरिदिने चौधरीले बताइन् ।

माघ महिनामा मात्रै एक सय ५० बढीको निवेदन लेखिदिने तथा अन्य सेवा लिएको चौधरीले बताइन् ।

सेवा लिएका सबैको रेकर्ड पनि राख्ने गरिएको छ । निःशुल्क भएकाले फोटोकपी गर्न धेरै सेवाग्राही आउने चौधरीले सुनाइन् ।

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवालिनआएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।

सेवाग्राही, कार्यालयका स्टाफ तथाकर्मचारी गरी दैनिक न्यूनतम २सय ५० देखी ३ सय सम्म चिया कफी खपतहुने गरेको कर्मचारीको भनाई छ ।

नागरिक सहायता कक्षमा स्तनपानको पनि छुट्टै व्यवस्था गरिएको छ । अपाङ्गता भएका सेवाग्राहीका लागि सहायता कक्षका कर्मचारीले नै फाइल सम्बन्धित शाखामा पु¥याइदिने काम गर्छन् । यसबाट अपाङ्गता भएकाहरूले सहज महसुस गरेका छन् ।

सुशासन अभ्यासमा डिजिटल मोनिटरिङ

इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । नागरिक सहायताकक्षभित्र छुट्टै डिजिटल कक्ष रहेको छ ।

उपमहानगरपालिकाअन्तर्गत रहेका ९२ कार्यालयमा जोडिएका सिस क्यामराको लिङ्क यो डिजिटल कक्षमा जोडिनेछ । यहीबाट सबै कार्यालयको निरीक्षण तथा अनुगमन गर्न सकिनेछ ।

२० वटा वडा कार्यालय,१० वटा महाशाखा, ४० शाखा,१५ आधारभूत स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी,२ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसि क्यामरा जडानको कामिइरहेको प्रशासन प्रमुख सञ्जीवकुमार खड्काले जानकारी दिए । यी कार्यालयमा काम गर्ने ५ सय ९७जनाकर्मचारीहरू अव डिजिटल मोनिटरिङ हुनेछन् ।

केही ठाउँमा जडान भएको छ भने केही ठाउँमा जडान हुन बाँकी रहेको प्रशासन प्रमुख खड्काले बताए ।

अहिले इटहरी अस्पताल, जनता स्कुलको खेलमैदान,बसपार्क लगायत अन्य केही सार्वजनिक स्थलहरूमा जोडिएका सिस क्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएको छ ।

सबै ठाउँका सिस क्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएपछि कार्यालयमा बसीबसी अनुगमन तथा निरीक्षण गर्न सकिने उपमहानगरले जनाएको छ ।

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

 

Comments