अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शन हुने





इटहरी । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शनी हुने भएको छ । 

आइतबार इटहरीको चिया चौतारीमा पत्रकार सम्मेलन गर्दै यही फागुन १९  देखि फागुन ३० गते सम्म नाटक प्रदर्शनी हुने जानकारी दिइएको हो । 

"क्याम्पस थिएटर सिजन १" नाम दिएर लामो समय देखी लेखक विजय मल्लको "बहुला काजीको सपना" नाटकमा अभ्यास गरिएको अनेरास्ववियू सुनसरी अध्यक्ष अतीत किरण नेपालले जानकारी दिए ।  

नाटकको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको समेत अध्यक्ष नेपालले बताए । "यो नाटकको व्यवस्थापन ,निर्देशन र अभिनय सबै काम विद्यार्थीहरूले नै गर्नु भएको छ ।" अध्यक्ष नेपालले भने । 

अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनहरू आफ्नो मूल मुद्दाबाट भड्किएर गएकाले ट्र्याकमा ल्याउन  नेताको झोला बोक्ने भन्दा पनि विद्यार्थीका मुद्दा बोक्न अन्य  सङ्गठनहरूलाई पनि उत्प्रेरित गर्नका लागी पनि नाटक प्रदर्शन गर्न लागिएको अध्यक्ष नेपालले बताए । 

गरिब निमुखा वर्गको उत्थान र वर्ग सङ्घर्षको मिठो कथा बोकेको नाटक इटहरीको तायारिप्चि भवनमा प्रदर्शनी गरिने अनेरास्ववियू सुनसरीका उपाध्यक्ष सम्राट थापाले बताए । 

नाटक प्रदर्शनीको औपचारिक उद्घाटन फागुन १९ गते गरिने दिउँसो साढे १ बजे गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । 

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेकपा समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल , विशेष अतिथि कोशी प्रदेशका पूर्व मुख्य मन्त्री  राजेन्द्र कुमार राईको विशेष आतिथ्य, कोशी प्रदेशका मन्त्री कमल जवेगु, अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामा लगायतको उपस्थिति रहने उपाध्यक्ष थापाले जानकारी दिए । 

नाटकको निर्देशन  विद्यार्थी रोशन आचार्यले गरेका हुन् भने नाट्य प्रशिक्षणको लागी कलालय इटहरीले सहयोग गरेको छ  । 

११ दिन सम्म चल्ने नाटक प्रदर्शनीको टिकट मूल्य तीन सय,पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । 

इटहरीमा नाटक प्रदर्शनी सम्पन्न भएपछि धरान र काठमाडौँमा समेत प्रदर्शनी गर्ने योजना रहेको आयोजकले बताएको छ ।





Comments